कालीखोलामा वृहत सरसफाई अभियान

पोखरा ।

पोख्रेलीको खानेपानीको मुख्य श्रोत रहेको कालीखोलामा वृहत सरसफाई अभियान शुरु गरिएको छ ।

पोखरा १६ मा पर्ने कालीखोला पछिल्लो समय प्रदुषित बन्दै गएपछि त्यस क्षेत्रका संघ संस्था तथा नागरिक समाजले चिन्तामात्रै गरेनन् उनीहरुकै पहलमा सफाई अभियान शुरु भएको हो । अभियान अन्र्तगत शनिवार केभसिटी पर्यटन सहकारी संस्थाको आयोजनामा गीता मन्दिर देखि ६० मिटरको दुरिमा रहेको श्रीपाली वस्नेत कूल मन्दिर क्षेत्रसम्म सरसफाई गरिएको सहकारीका कोषाध्यक्ष केशववहादुर वस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीले खोलाको दुवै छेउमा सरसफाई गर्नुका साथै जथाभावी फोहर नफाल्न सचेतना जगाएका थिए ।यसअघि अभियानको पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले सहकारीका अध्यक्ष वेनीवहादुर वस्नेतलाई फोहर संकलन सामाग्री हस्तान्तरण गरी सुरुवात गर्नुभएको थियो ।कार्यक्रम संयोजक दुर्गालाल श्रेष्ठले अभियानले निरन्तरता पाउने बताउँदै सहयोगका लागि आग्रह गर्नुभयो ।

अभियानमा गरिमा विकास वैंक, विन्ध्यवासिनी मा.वि,पोखरा एकेडेमी, आमा समूह, टोल विकास संस्था, हिमालय क्लव लगायतले सहभागिता जनाएका थिए ।