केही दिनमै अर्थतन्त्रको अवस्था समेटेर श्वेत पत्र जारी हुने

janardan_sharma_in_a_meeting

साउन १, काठमाण्डौ

अर्थ मन्त्री जनार्दन शर्माले अहिलेको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा श्वेत पत्र जारी गर्ने बताउनुभएको छ । शुक्रवार अर्थ मन्त्रालयमा पत्रकारहरूसँग परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारले अहिलेसम्मको आर्थिक अवस्था समेटेर श्वेत पत्र जारी गर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्मको अवस्था के छ अर्थतन्त्रको भनेर यथार्थ विवरण, श्वेत पत्र तयार गरी केही दिनमा मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछौँ ।’ अर्थमन्त्री शर्माले पुँजी बजारमा समस्या रहेको पनि बताउनुभयो । पुँजी बजारको समस्या समाधान गर्न सर्वसाधारणको हित हुने गरी नीति निर्माण गर्ने उहाँले बताउनुभयो ।

अर्थ मन्त्री शर्माले अध्यादेशमार्फत आएको आर्थिक वर्ष २०७८÷०७९ को बजेट आउँदो संसद् बैठकमा पेस हुने र बजेट पास हुने÷नहुने त्यसपछि नै निर्क्यौल हुने बताउनुभयो । सरकारको समग्र योजना निर्माण भइसकेपछि त्यसैको आधारमा अर्थ मन्त्रालयको भावी योजना र कार्यक्रमबारे बताइने पनि उहाँको भनाइ छ ।