आजदेखि पोखरा–नेपालगञ्जको सिधा हवाई उडान

buddha

साउन १७, कास्की,

बुद्ध एयरले आजदेखि पोखरा–नेपालगञ्जको सिधा हवाई उडान भर्न सुरु गरेको छ । पोखराबाट नेपालगञ्ज जान सडक मार्गबाट न्यूनतम १४ घण्टा लाग्नेमा अब हवाई उडानबाट ३५ मिनेटमै गन्तव्यमा पुग्न सकिन्छ ।

पहिलो चरणमा हप्तामा तीन दिन आइतबार, बुधबार र शुक्रबार तीनवटा उडान भर्ने योजनाका साथ आजदेखि उडान शुरु गरिएको बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो ।

गत वैशाख १८ देखि नै पोखरा–नेपालगञ्ज सिधा उडान थाल्ने योजना बनाइए पनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को असरले हाल हप्ताका तीन दिन बिहान ९ः१० बजे नेपालगञ्जका लागि पोखराबाट उडान हुनेछ । त्यस्तै नेपालगञ्जबाट बिहान १०ः०० बजेको उडानबाट यात्रुहरू पोखरा आउन पाउने बरालले बताउनुभयो ।

प्रत्येक उडानका लागि टिकटदर सस्तोमा चार हजार ९३५ रुपैयाँ छ भने अधिकतम रू सात हजार ६३५ छ । त्यस्तै मध्यमदरको टिकट पाँच हजार ५३५ रुपैयाँको छ ।

पर्यटकीय नगरी पोखराबाट हवाई उडानमार्फत ३५ मिनेटमा नेपालगञ्ज पुग्ने पर्यटक त्यहाँबाट नजिकै रहेको बर्दिया राष्ट्रिय निकुञ्ज,कर्णाली चिसापानी, रारालगायत स्थान पनि जानसक्ने भएकाले यो उडानले पर्यटन विकासमा समेत योगदान पुग्ने नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।