जेठ १६, कास्की,
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उहाले कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षाका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गरेको दाबि गर्नुभएको छ ।
साथै गण्डकी प्रदेश अक्सिजनमा आत्मनिर्भर रहेको दाबि गर्दै मुख्यमन्त्री गुरुङले कहिलेकाहीँ प्राविधिक कारणले बिरामीको दुःखद मृत्यु हुने गरेकोले त्यसलाई रोक्न सबै गम्भीर भएर लाग्नु पर्नेमा जोड दिनुभएको छ । उहाँले परिषद्ले उपलब्ध गराएको अत्यावश्यक स्वास्थ्य उपकरणले कोभिड– १९ का बिरामीलाई उपचारमा सहज हुने विश्वास व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्रीले उक्त सामग्री संक्रामक तथा सरुवा रोग अस्पतालका चिकित्सक विकास गौचन, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डुकबहादुर क्षेत्री र मातृशिशु मितेरी अस्पतालका चिकित्सक पुष्कर गौचनलाई हस्तान्तरण गर्नुभएको थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना महामारीको अवस्थामा मानवीय सेवालाई केन्द्रबिन्दुमा राख्दै परिषद्को नेतृत्वमा उक्त सामग्री छिमेकी मुलुक चीनबाट आयात गरिएको जानकारी दिनुभयो ।
यसैबिच
गण्डकी प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि प्रदेशका ११ जिल्लाका लागि दुई करोड नौ लाख रुपैयाँ वितरण गर्ने भएको छ ।
मुख्यमन्त्री गुरुङले छुट्याइएको बजेट र कार्यक्रमबारे जानकारी दिँदै कार्यान्वयन गर्न जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरू, जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट, जिल्ला आयुर्वेद अस्पतालका प्रमुखहरू र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निर्देशकहरूलाई निर्देशन दिनुभएको छ ।
स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका अनुसार औषधि खरिदका लागि ११ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरूलाई प्रति कार्यालय पाँच लाख रुपैयाँका दरले दिइने भएको छ ।