गण्डकी प्रदेश सरकारद्धारा प्रस्तुत २०७८/०७९को निति तथा कार्यक्रममा कोभिड नियन्त्रणदेखि पूर्वाधार विकासमा जोड

niti karrekaram

जेठ ३१, पोखरा

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेशसभाको आजको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्दै प्रदेशको समृद्धि र विकासका लागि अघि बढ्ने बताउनुभएको छ ।

कोभिड–१९ को महामारीबाट सिर्जित समस्याहरूको सम्बोधन गर्नका लागि कोरोना विरुद्धको खोपको व्यवस्थापन गर्नुका साथै महामारीबाट बच्न सचेतना, परीक्षण, संघ र स्थानीय तहबाट गरिने कार्यक्रम सवलीकरण, समन्वय र सहयोग गरिने उल्लेख गर्दै कोरोना सङ्क्रमितको उपचारलाई प्रभावकारी बनाउन अत्यावश्यक स्वास्थ्य उपकरण समाग्री तथा औषधिको व्यवस्था गरिने पौडेलले बताउनुभयो ।

कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएकाको परिवारलाई नगद राहत उपलब्ध गराइने, उत्पादन र रोजगारी अभिवृद्धि गर्न उद्यमी तथा व्यवसायीका लागि सञ्चालित व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रमलाई निरन्तरता दिइने, सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई सबै प्रकारका सरुवा रोगको उपचार गर्ने नमूना अस्पतालको रुपमा विकास गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै प्रदेशका सबै पालिकामा मनोसामाजिक परामर्शकर्ताको व्यवस्था गरिने, बलात्कार वा अन्य प्रकृतिका यौन हिंसामा परेका बालिका तथा किशोरीलाई निःशुल्क शिक्षा दिईने, कृषि क्षेत्रको विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिने, प्रदेश भित्रका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकीय पूर्वाधार विकासका कामलाई निरन्तरता दिइने त्यस्तै कम्तीमा एक सामूदायिक वन एक पोखरी निर्माण अभियानलाई अघि बढाउने उल्लेख गरिएको छ ।

त्यस्तै पोखरा दुम्कीवास हुँदै त्रिवेणी जोड्ने उत्तर दक्षिण द्रुतमार्ग कोरोला निर्माण कार्यलाई निरन्तरता दिइने, नवलपुरको त्रिवेणी क्षेत्रको विकासका लागि गुरुयोजना तयार गरिने, भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति अवलम्बन गरिने बताउँदै सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाइने लगायतको कार्यलाई पनि निति तथा कार्यक्रममा समेटिएको छ ।