विषाक्त मदिरा पिएर चारजना मजदूरको मृत्यु, गम्भिर २ जनालाई उपचारकोलागि पोखरा ल्याईयो

rakxi

साउन ५, कास्की,

बागलुङमा विषाक्त मदिरा पिएर चारजना मजदूरको मृत्यु भएको छ भने अन्य दुई गम्भिर विरामि परेका छन् ।

सोमबार साँझ विषाक्त मदिरा पिएका ६ मध्ये चारजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्ती रहेका छन् ।

त्यस्तै उनीहरुसँगै मदिरा पिएका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको अवस्था गम्भीर रहेको र धौलागिरि अस्पतालमा उपचार सम्भव नभएपछि दुबै जनालाई गण्डकी अस्पताल पोखरा ल्याईएको छ ।

विषाक्त मदिरापिएर ४ जनाको एकैचोटि ज्यान गएपछि घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक इकवाल हवारीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक हवारीको नेतृत्वमा गठन भएको समिति गम्भीर भएर अनुसन्धानमा लागेको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले बताउनुभएको छ ।

“सात दिनको समय दिएर डिएसपी सापको नेतृत्वमा टोली पठाएको छु”, उहाँले भन्नुभयो, “अहिलेसम्म दुईजना पक्राउ परेका छन्, मजदूरले खाएका चाउचाउ, दालमोठ र मदिराका भाँडाहरुसमेत बरामद गरेका छौँ ।”

पक्राउ पर्नेमा पसल सञ्चालक भद्रबहादुर थापा र स्थानीयवासी भक्तबहादुर बलाल रहेका छन् । उनीहरुसँग सोधपुछ चलिरहेको र शवपरीक्षणको रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाइने उहाले बताउनुभयो ।