झन्डै एक महिनादेखि स्थगित गण्डकी प्रदेशको वर्षे अधिवेशन अझै अनिश्चित

gandaki-prdesha1

साउन २६, कास्की,

मार्सल लगाएर गत असार ३० मा आर्थिक वर्ष २०७८÷७९ को बजेट पारित गरेपछि गण्डकी प्रदेशसभा बैठक अहिलेसम्म बस्न सकेको छैन । झन्डै एक महिनादेखि स्थगित वर्षे अधिवेशन कहिले सुचारु हुन्छ भन्ने अझै टुंगो नलागेको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले जानकारी दिनुभयो । बैठक बोलाउनेबारे छलफल भने भइरहेको उहाले बताउनुभयो ।

‘सदन सत्ता र प्रतिपक्ष दुवैको सहमतिमा चलाउने हो,’ उहाले भन्नुभयो, ‘पूर्वमुख्यमन्त्री एवं प्रमुख प्रतिपक्ष दल एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङसँग छलफल गर्नुपर्ने विषय धेरै छन । उहाँ अहिले पोखरामा हुनुहुन्न । सरकारले एकलौटी निर्णय गर्न नमिल्ने काम थाती रहेकाले हालका र पूर्वमुख्यमन्त्रीबीच छलफल गरेपछि मात्र बैठक आह्वान गर्छौं ।’ गुरुङ पार्टीको कामले काठमाडौं जानुभएको छ । प्रदेशसभा सचिवालयमा एउटा विधेयक दर्ता भएको र अन्य विधेयकको ड्राफ्ट भइरहेको खड्काको भनाइ छ ।

प्रदेशसभाको सार्वजनिक लेखा र विधायन समिति सभापति हेरफेरको काम पनि यत्तिकै रहेकोले सार्वजनिक र विधायन समितिको सभापतिको टुंगो लगाएर मात्र बैठक सञ्चालन गर्ने तयारी भएको मन्त्री खड्काको भनाइ छ ।

यस्तै सभामुख नेत्रनाथ अधिकारीले संसद् बैठकबारे मुख्यमन्त्रीसँग छलफल भइरहेको बताउनुभयो । प्रमुख प्रतिपक्ष दल एमालेले संसद् बैठक सञ्चालन गर्न ढिला गरिरहेको गण्डकी प्रदेश सरकारले आरोप लगाएको छ ।