आज नाग पञ्चमी, आजै भगवान विष्णुको दशौँ तथा अन्तिम कल्कि अवतारको जन्मदिन

naag

साउन २९, कास्की,

आज नाग पञ्चमी, यस अवसरमा नाग मन्दिर र घरघरमा नागको पूजा गरिँदै छ । प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवम् तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने प्रचलन छ ।

ब्राह्मण पुरोहितहरु आ–आफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलो या मूल खाँबोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ । रक्षार्थ टाँसिने यस्ता चित्रहरु ल्याउने र टाँस्ने पुरोहितहरुलाई जजमानले गक्ष अनुसारको दक्षिणा, नैबेद्य र भोजन पनि गराउने चलन छ ।

आजको दिनदेखि बर्खा सकिएर हिउँद शुरु भएको मानिन्छ । नाग पञ्चमीका दिन नागका अष्टकुलका रुपमा लिइने अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले घरमा सर्पादी भय नहुने, चट्याङ नपर्ने तथा अग्निजन्य भय नहुने विश्वास गरिन्छ । भूमिमा नाग देवताको बसोवास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले नागपञ्चमीका दिन खनजोत नगर्ने प्रचलन छ । नाग पञ्चमीपछि अब बिस्तारै बर्षा कम हुँदै जान्छ । नाग पञ्चमीसँगै चाडवाडको मौसम पनि शुरु हुन्छ ।

यस दिन नागदेवताको पूजा अर्चनाकालागि दुध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ । सामान्यतया अगाडि सर्पनै राखेर पूजागर्न डरलाग्दो र जोखिमयूक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।
यस्तै
भगवान विष्णुको दशौँ तथा अन्तिम अवतार (कल्की अवतार) भविष्यमा आजकै दिन यस कलियुगमा जन्म लिने धार्मिक मान्यता छ । आजको दिन (श्रावण शुक्ल पञ्चमी) अर्थात् कल्की जयन्तीले भगवान विष्णुको यो अन्तिम अवतारको जन्म हुनलागेको याद दिलाउँछ । कलियुगमा अधर्म बढ्न थालेपछि कल्की अवतारले जन्म लिएर सबै पापीहरुको विनास गरेर पुन एकपटक यो मानव जगतलाई धर्मको मार्गमा पुनर्स्थापित गराउने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।