“सरकार र निजी क्षेत्रबीचको सम्बन्धले मात्रै प्रदेशको बिकास हुन्छ” : मुख्यमन्त्री पोखरेल

nawalpur

साउन २३, नवलपुर,

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार र निजी क्षेत्रबीचको सम्बन्धले मात्रै प्रदेशको बिकास हुने बताउनुभएको छ ।

आज (शनिबार) नवलपुरको दलदलेमा उद्योग बाणिज्य संघ देबुचुलीले गरेको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै मुख्य मन्त्री पोखरेलले गण्डकी प्रदेशको समृद्धिका लागि लगानीमैत्री वातावरण तय गर्दै नीतिगत, कानुनी, संस्थागत संरचना र प्रक्रियागत सुधार गर्न सरकार तयार रहेको बताउनुभयो ।

उहाँले विभिन्न राजनीतिक घटनाक्रमका बीच गण्डकीमा नयाँ सरकार बनेपनि अघिल्लो सरकारले गरेका कामको स्वामित्व लिएर आफूहरु अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कोरोनाबाट थलिएका साना व्यवसायीका लागि ल्याइएको जीवन रक्षा कोषलाई थप प्रभावकारी बनाएर लगिने जानकारी दिँदै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र अन्तरगतका वार्षिक कार्यक्रमहरूलाई निर्धारित अवधिभित्र सम्पन्न गर्न सरकारले काम थालिसकेको बताउनुभयो ।

लगानीबाट मात्र उत्पादन, रोजगारी र आम्दानीको ढोका खुल्ने भन्दै उहाले व्यवसाय गर्ने अनुकुल वातावरण निर्माण गरी निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न सरकार तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताका क्षेत्रहरुको पहिचान गरी पर्यटन विकास, पूर्वाधार निर्माण, कृषिको आधुनिकीकरण र औद्योगीकरणमा टेवा पुग्ने गरी लगानी आकर्षित गर्न सकेमा मात्र जनताको विकासको चाहना पूरा गर्न सकिन्छ ।’

साथै उहाँले गण्डकी सरकारको पहिलो प्राथमिकता कोरोविरुद्धको खोप भएको उल्लेख गर्दै जनतालाई सहज रूपमा खोप लगाउन प्रदेश सरकार लागि परेको र छिट्टै नै प्रदेशका सम्पूर्ण जनातालाई खोप दिएर गण्डकीलाई ६ महिना भित्र पूर्ण खोप घोषणा गरिने बताउनुभयो ।

उत्तरको कोरोला र दक्षिणको त्रिवेणी नाका खुलाएर अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्नुपर्ने भन्दै उहाँले यसका लागि संघ सरकारसँग छलफल भएको बताउनुभयो । शनिबार गृह जिल्ला पुग्नुभएका मुख्य मन्त्री पोखरेलले जिल्लाका दर्जनौं कार्यक्रमा सहभागीता जनाउनुभएको थियो ।