नयाँ सरकार गठनको महीनावित्दा समेत गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएन

gandaki

साउन ५, कास्की

गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको एक महिना पूरा भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले कुनै महत्वपूर्ण काम अघि बढाउन सकेको छैन ।

जेठ २९ गते नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री चयन हुनुभएको थियो । उहाँ मुख्यमन्त्री चयन भएकै दिन गठबन्धनका सबै दलको प्रतिनिधित्व हुने गरी चार जनालाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो ।

धेरै बजेट भएका अर्थ र भौतिक पूर्वाधार मन्त्रालयमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । दुवै दलले यी दुवै मन्त्रालय आफूले पाउनुपर्ने अडान राखेका छन् ।

गठबन्धनको मुख्य दुई घटक कांग्रेस र माओवादीबीच नै सत्ता साझेदारीमा कुरा मिलेको छैन । प्रदेशस्तरमा सहमति जुटाउन नसकेपछि मुख्यमन्त्री दुई पटक केन्द्रीय नेतृत्वलाई गुहार्न काठमाडौंमा पुगिसक्नुभयो । गठबन्धनका शीर्ष नेतालाई भेटेर प्रदेशको सत्ता विवाद मिलाइदिन आग्रह गरे पनि केन्द्रीय नेतृत्वसमेत अनिर्णित रहेको छ ।

गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको मन्त्रालय भने टुंगो लागिसकेको छ । आचार्यले भौतिक पूर्वाधारबाट छुट्याइएको ऊर्जा मन्त्रालय र मनाङेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

मुख्यमन्त्री पोखरेलले आफू नियुक्त भएपछि मन्त्रिपरिषद् विस्तार नगरी विश्वासको मत लिनुभएको थियो ।

विश्वासको मत लिएपछि पनि मन्त्रिपरिषद् विस्तार नगरी बजेट पारित भएपछि मात्रै विस्तार गर्ने भनियो । तर, बजेट पारित भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्ने सुरसार देखिँदैन ।

प्रदेशको किचलो नमिलेको र केन्द्रीय नेतृत्वबाट पनि कुनै जवाफ नआएपछि मुख्यमन्त्रीको टोली शुक्रबार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेको थियो । देउवालाई बधाई दिनुका साथै प्रदेशको सत्ता गाँठो फुकाइदिन आग्रह गरिएको टोलीका एक सदस्यले बताउनुभयो ।

काठमाडौंबाट फर्किएको दुई दिनयता मुख्यमन्त्रीको टोली पोखरेलको गृहजिल्ला नवलपुरको भ्रमणमा छ ।

यता मुख्यमन्त्री पोखरा फर्किएलगत्तै मन्त्रिमण्डलले पूर्णता पाउने गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले दाबी गर्नुभएको छ । उहाँले केन्द्रीय नेतृत्वले सत्ता साझेदारीको ‘निकास’ पनि दिइसकेको जिकिर गर्नुभयो ।

‘आफ्नो पार्टीको प्रधानमन्त्री भएका बेला शुभकामना दिऔं न भनेर गएका हौं । त्यहाँ गठबन्धनका सबै नेताहरुलाई भेट्ने काम पनि भयो,’ खड्काले भन्नुभयो, ‘एउटा निकास मिलिसकेको छ । मुख्यमन्त्रीज्यू फर्किएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।’

गण्डकी प्रदेशमा अहिले ११ वटा मन्त्रालय छन् । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रवक्ता खड्काले मन्त्रालय बढाएर १२ पु¥याउने विषयमा छलफल भए पनि केन्द्रीय नेतृत्वले नबढाउन सुझाव दिएको पनि बताउनुभएको छ । खड्काले मन्त्रालय बाँडफाँट अबको एकदुई दिनमै टुङ्गो लाग्ने दाबी गर्नुभएको छ ।