तालिबानद्धारा भारतीय वाणिज्य दूतावासमा छापाः शिया हजारा समुदायको नरसंहार भएको दाबी

taliban-kabu

भदौ ४, एजेन्सी,

हालै सत्ता कब्जा गरेको तालिबानले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा छापा मारेको छ ।

हाल बन्द कन्धार र हेरातमा रहेका भारतीय दूतावासको कार्यालयको ताला तोडी तालिबानी लडाकु प्रवेश गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ । दुवै दूतावासका कार्यालय परिसरमा राखिएका गाडीहरू पनि उनीहरूले लिएर हिँडेको बताइएको छ ।

अफगानिस्तानको सत्ता कब्जामा लिएको तालिबानले भारतसँग क्रुरता देखाइरहेको छ । बिहीबार मात्र तालिबानले भारतसँग व्यापार पनि बन्द गरिसकेको खबर बाहिरिएको थियो । जसकारण लाखौं डलर बराबरको सामान आयात र निर्यात रोकिएको छ ।

यस्तै अफगानिस्तानको राजधानी काबुलमा सरकारको गुप्तचर एजेन्सी एनडिएसका लागि काम गर्ने अफगानी नागरिक खोजीका लागि तालिबानी लडाकु घरघर पुगेको पनि बताईएको छ ।

जलालाबाद र काबुलस्थित भारतीय वाणिज्य दूतावासमा के भइरहेको छ, त्यसको जानकारी प्राप्त भइसकेको छैन । रिपोर्टअनुसार हक्कानी नेटवर्कका झन्डै ६ हजार लडाकुले अनस हक्कानीको नेतृत्वमा राजधानी काबुल नियन्त्रणमा लिएको जनाइएको छ ।
यसैबिच
मानव अधिकार संगठन एम्नेस्टी इन्टरनेसनलले अफगानिस्तानमा अल्पसङ्ख्यक शिया हजारा समुदायको नरसंहार भएको दाबी गरेको छ । एम्नेस्टी इन्टरनेसनलले एक प्रतिवेदनमार्फत हालै तालिबानले गजनी प्रान्तमा हजारा समुदायका मानिसहरूको हत्या गरेको जनाएको छ ।

बिहीबार प्रकाशित प्रतिवेदनमा गजनी प्रान्तको मालिस्तानमा गत जुलाई ४ र ६ तारिखको अवधिमा हजारा समुदायका ९ पुरुषको हत्या भएको उल्लेख छ ।