विश्वमा कोरोनालाई जित्नेको सङ्ख्या १५ करोड भन्दा धेरैे, पछिल्ला दिनमा भारतमा कोरोना संक्रमण ओरालो लाग्दै

fight with corona

जेठ १३, एजेन्सी,


विश्वमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १५ करोड नाघेको छ । वल्र्डओमिटरका अनुसार अहिलेसम्म विश्वका १५ करोड सात लाखभन्दा धेरै मानिस कोरोना सङ्क्रमण पुष्टि भएर सङ्क्रमण मुक्त भइसकेका छन् ।
कतिपय मानिसले कोरोना परीक्षण नै नगराइ निको हुने भएकोले यो सङ्ख्या अझै धेरै हुने विज्ञहरु बताउँछन् । पुष्टि भएकामध्ये निको हुनेको दर ८९ दशमलव १३ प्रतिशत रहेको छ ।
अहिलेसम्म विश्वमा १६ करोड ९० लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३५ लाख १२ हजारभन्दा धेरैको ज्यान गएको छ ।
अहिले विश्वमा एक करोड ४७ लाखभन्दा धेरै कोरोनाका सक्रिय सङ्क्रमित छन् । सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरस विश्वका दुई सय २० देश तथा शासित क्षेत्रहरुमा पुगिसकेको छ ।
कोरोना नियन्त्रणका लागि अहिले पनि धेरै देशले निषेधाज्ञा, लकडाउनलगायत विभिन्न प्रतिबन्धहरु कायम राखेका छन् । धेरैजसो देशमा कोरोना भाइरसविरुद्धको खोप अभियान पनि सुरु भइसकेको छ ।
यसैबिच
भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ ।
पछिल्लो २४ घण्टाभित्र त्यहाँ २ लाख ११ हजार ५५३ जना नयाँ संक्रमित थपिएका हुन् । अघिल्लो दिनको तुलनामा यो संख्या केही बढी हो। अघिल्लो दिन यो सख्या २ लाख ८ हजारभन्दा बढी थियो । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ७३ लाख नाघेको छ ।
नयाँ संक्रमितको संख्या केही घटे पनि पछिल्लो केही दिनयता दैनिक मृतकको संख्या भने उच्च छ । भारतमा पछिल्लो २४ घण्टामा ३८ सय ४२ को मृत्यु भएको छ । यो योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख १५ हजार नाघेको छ । संक्रमितमध्ये २ करोड ४६ लाख भन्दा बढी निको भइसकेका छन् भने २४ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।