अफगानिस्तानलाई जर्मनीले सहयोग रोक्ने : बेलायतले २० हजारलाई शरण दिने

airport_ma amerika

भदौ २, एजेन्सी,

जर्मनीले अफगानिस्तानलाई दिँदै आएको विकास सहायता रकम रोक्ने निर्णय गरेको छ । जर्मनीका विकास मन्त्री गर्ड मुलरले अफगानितानमा तालिवान सत्तामा पुगेपछि बिकास सहायता रोक्ने निर्णय भएको जानकारी दिनुभयो ।

अफगानिस्तानको ठूला दाताको रुपमा रहेको जर्मनीले यसअघि अफगानिस्तानलाई वार्षिक ५ सय ६ मिलियन अमेरिकी डलर अफगानिस्तान पठाउने सहमति भएको थियो ।

मुलरले अफगानिस्तानबाट जर्मनी फिर्ता हुन चाहने स्थानीय विकास अधिकारी र गैर–सरकारी संस्थाका कर्मचारीलाई ल्याउने पहल भइरहेको जानकारी पनि दिनुभयो ।

उता बेलायतले अफगानिस्तानबाट पलायन भएकाहरुलाई आफनो देशमा शरण दिने घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा २० हजारलाई शरण दिने घोषणा गरेका हुन् ।

अफगानी जनताको समर्थनमा बेलायत सरकार रहेको भन्दै उनले आफ्नो देश शरणार्थीका लागि खुला रहेको बताएका छन् ।