बिकास नेपालद्धारा पोखरा २० का कोभिड प्रभावितहरुलाई खाद्यान्न वितरण

khadyanna bitaran1

साउन १८, कास्की,

बिकास नेपाल संस्थाद्धारा कोभिड १९ को दोश्रो लहरबाट प्रभावित पोखरा २० का ६८ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० को समन्वयमा पोखरा १५ हरियाली मार्गमा रहेको बिकास नेपालले कोभिडबाट प्रभावित अशक्त, अपांगता र कोरोना संक्रमणबाट समस्यामा परेका अति विपन्न साविक भलाम र मौजाका ६८ घरपरिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले कोभिड १९ को महामारीबाट प्रभावितहरुलाई सहयोग गरी आफ्नो वडामा रहेकाहरुलाई केही हद सम्म राहत प्रदान गर्ने काम गरेकोमा बिकास नेपाल संस्थालाई धन्यवाद ब्यक्त गर्नुभयो ।


खाद्यान्न वितरण कार्यक्रममा बिकास नेपाल संस्थाका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापाले आपत विपतमा परेका पोखराका प्राय जसो वडामा सहयोग गरेको भएतापनि संस्थाले पोखरा २० लाई बिशेष ध्यान दिएर खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको भन्दै आगामी दिनमा मादि गाउँपालिकामा कार्यक्रम गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
सो अवसरमा प्रति व्यक्ति ३ हजार ८ सय बराबरको खाद्यान्न र स्वास्थ सामाग्री वितरण गरिएको थियो । बिकास नेपालका उपाअध्यक्ष बिमला केसी ले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।