ओली नेतृत्वको सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन : कांग्रेस

congress-padadhikari-baithak

जेठ १३, काठमाण्डौ,

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन रहेको बताएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन रहेको बताउनुभएको हो ।

सरकारले संसदीय प्रक्रियालाई छलेर दुरगामी प्रकृतिका निर्णय लिइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । सभापति देउवाले सरकारी संयन्त्रको दुरुपयोग नगर्न चेतावनी दिँदै सरकारका सम्बन्धमा मुद्दा सर्वोच्चमा रहेकाले कुनै पनि दुरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न भन्नुभएको छ ।
सरकारकै अकर्मण्यता र उदासीनताका कारण कोरोना सङ्क्रमण बढेको र सङ्क्रमण रोक्न फेरि पनि सरकारले निषेधाज्ञाको साहारा लिएको देउवाको भनाइ छ । उहाँले कोरोना सङ्क्रमणलाई सरकार सत्ता सुरक्षाको कवच र जनअधिकार कुण्ठित गर्ने हतियारको रूपमा प्रयोग भइरहेको आरोप पनि लगाउनुभएको छ ।

यस्तै विज्ञप्तिमार्फत देउवाले प्रधानमन्त्रीलाई पेस गरेको १५ बुँदे ज्ञापन–पत्रलाई गम्भीरताका साथ लिन पनि माग गर्नुभएको छ । साथै उहाँले कोभिड–१९ विरुद्ध खोपको तत्काल आपूर्ति, देशभर आवश्यकताअनुसार आईसीयू बेड र अक्सिजनको व्यवस्था र निम्न आय भएकाहरूलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न माग गर्नुभएको छ ।

यसैबिच सभापति देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक सङ्कट निम्त्याएको बताउनुभएको छ । नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसको अवसरमा ’जुम’मार्फत् आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको कदमले प्रजातन्त्रमा पनि खतरा आइपुगेको बताउनुभयो ।

कोभिड १९ को सङ्क्रमणले भयानक अवस्था सिर्जना गरेकोले सडक आन्दोलनमा जान नहुने भन्दै देउवाले नागरिकमा गएर झन् कोभिड फैलाउने अपराध गर्न नहुने स्पष्ट पार्नुभयो । सभापति देउवाले मिडियालाई आवाज उठाउन र प्रतिनिधि सभा विघटनको विरुद्धमा जनमत सिर्जना गर्न आग्रह गर्नुभयो ।