आज बकर इद : देशैभर सार्वजनिक विदा (फोटो फिचर)

eid

साउन ६, कास्की,

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।

इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन् । इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ ।

यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।

नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी दिने गरिन्छ । बलि दिइएको जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ ।

यस अवसरमा काठमाण्डौको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।

सरकारले बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुस्लिम समूदायको चाड बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको हो ।

गत वर्ष जस्तै यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले स्वास्थ्यमापदण्डको पालना गरि सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरिएको छ ।