महामारीविरुद्ध लड्ने हतियार खोप नै हो : देउवा

deuwa

साउन ३१, काठमाण्डौ,

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताउनुभएको छ ।

कान्तिपुर इकोनमिक समिट २०२१ लाई आज आइतवार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले सरकारले कोभिड–१९ विरुद्धको तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एकातिर खोप व्यवस्थापनका लागि आवश्यक परेमा संसारका हरेक खोप निर्मातासम्म सबै खालका उपाय लगाएर पुग्नेछौँ भने अर्कोतिर पहुँच भएकाले मात्र खोप पाउने स्थिति नबनोस् भनेर खोपको वितरण समन्यायिक हुने मानवीय आधारको हुने स्थिति पनि बनाउने छौँ ।’

यो हप्तासम्म पूर्णमात्रामा खोप लगाएका ३२ लाखसहित कुल ७८ लाख जनाले कम्तीमा खोपको पहिलो डोज लगाएका र दैनिक तीन लाख ६७ हजार जनासम्मलाई खोप लगाउन सकिएको अवस्था बनेको उहाँले बताउनुभयो । अहिले नेपालमा आइसकेको एक करोड आठ लाख खोपबाहेक आउँदो असोजसम्म कम्तीमा अर्को एक करोड खोप आउने भएको छ । यसबाहेक आउँदो चैतसम्म सरकारले खोप लगाउन उपयुक्त सबै नागरिकलाई खोप लगाएर सक्ने प्रण गरेको प्रधानमन्त्री देउवाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले खोपपछिको तात्कालिक अर्थव्यवस्था सञ्चालनको मूल नीति समष्टिगत आर्थिक स्थायित्व कायम राख्ने तथा उपयुक्त राहत कार्यक्रमको ढाँचा तयार गर्नेमा केन्द्रित हुने बताउनुभयो ।

गएको वर्ष आर्थिक गतिविधि रोकिएर कर्जाको माग कम भएकाले पनि ब्याज दर कम भएको थियो । जसले गर्दा ऋण लिएर व्यवसाय गरिरहेका उद्यमीलाई केही राहत भएको थियो । आर्थिक गतिविधि बिस्तारै बढ्दै जाँदा एकातिर कसरी ब्याज दर अनियन्त्रित रूपमा बढ्नबाट रोक्ने भन्नेमा सरकारले ध्यान दिनेछ भने अर्कोतिर साना लगानीकर्ता तथा व्यवसायीलाई संरक्षण गर्ने, लघु तथा साना र मझौला उद्योगलाई विभिन्न लक्षित कार्यक्रमबाट समस्या समाधान गर्ने उहाँले उल्लेख गर्नुभयो ।