सर्वोच्च अदालतको आदेशलाई विभिन्न दलहरुद्धारा स्वागत

Deuwa-Prachanda

असार २८, काठमाण्डौ,


सर्वोच्च अदालतको आदेशलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले स्वागत गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै संविधानलाई ट्र्याकमा ल्याइदिएको बताउनुभएको छ । कसैले पनि यसलाई व्यक्तिगत जित÷हारको विषयका रूपमा नलिइ लोकतन्त्र, संविधान देश र जनताको हितमा उपयोग गरेर जान पनि देउवाले अपिल गर्नुभएको छ ।
अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरीत गरिएको कदमलाई सच्याएको सभापति देउवाको प्रतिक्रिया छ ।
यसैबिच
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको फैसलाले केपी शर्मा ओलीको अधिनायकवादको यात्रामा ब्रेक लगाइदिएको बताउनुभएको छ । उहाँले अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको बताउनुभयो ।
पटक–पटकको संसद् विघटन र पटक–पटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको अवस्थामा आजको फैसला आम नेपाली जनताको जितको रूपमा अगाडि आएको प्रचण्डको भनाइ छ ।