जेठ १६, काठमाण्डौ,
अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्ष २०७८÷०७९ को बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । आउँदो आर्थिक वर्षका लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटको सम्बन्धमा आइतवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थ मन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र सङ्कल्पका साथ बजेट आएको स्पष्ट पार्नुभएको हो ।
मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताउनुभयो । आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउँदै समृद्धिको सपना साकार पार्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
मन्त्री पौडेलले सोमबारदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तीव्रता दिएर अघि बढ्ने बताउनुभयो । उहाँले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढङ्गले चुनाव सम्पन्न गर्न सम्पूर्ण सामर्थ्य परिचालन गरिने बताउनुभयो ।