बैशाख ३०, पोखरा,
गण्डकी प्रदेशमा जनमोर्चाका दुई सांसदलाई पार्टीले कारवाही गर्ने भएपछि
गण्डकी प्रदेशसभाको अंक गणितमा फेरबदल हुने भएको छ । फेरिएको अंकगणितका कारण मुख्यमन्त्री गुरुङको पद धरापमा पर्ने निश्चित भएको छ ।
तर, विपक्षी गठबन्धनलाई पनि बहुमत पुर्याउन एक सीट कम हुने भएकाले कसैको पनि बहुमत नपुग्ने स्थिति आउने भएको छ । हाल गण्डकी प्रदेशमा ६० जना सांसद छन् । जनमोर्चाका दुई सांसदमाथि कारवाही भएपछि प्रदेशसभाको संख्या ५८ मा झर्ने छ ।
त्यो अवस्थामा सरकार गठनका लागि ३१ को साटो ३० जना भए बहुमत पुग्छ । मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङको पक्षमा अहिले दीपक मनाङ्गेसहित २८ जना छन् । विपक्षी मोर्चामा भने काँग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जसपाका २ र जनमोर्चाका १ जना गरी २९ सांसद छन् ।
यो स्थितिमा मुख्यमन्त्री गुरुङले एक महिनाभित्र विश्वासको मत लिँदा बहुमत गुमाउने पक्कापक्की छ । तर, सरकारको दाबी गरिरहेका विपक्षीसँग पनि २९ सिटमात्र पुग्छ ।
सभामुख माओवादी तर्फबाट भए पनि दुबैतिर बराबरी भएको अवस्थामा मात्र सभामुखले निर्णायक मत दिन पाउने भएकाले विपक्षी मोर्चाले सभामुखलाई जोड्न पाउने स्थिति छैन ।
जनमोर्चाका सांसदहरु खिम विक्रम शाही र कृष्णबहादुर थापा अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने पार्टी निर्णयविपरीत उभिएपछि उनीहरुलाई पार्टीले कारवाही गर्ने भएको हो ।