आफ्नै पार्टीभित्रैका नेताबाट देशका लागि अनिष्ट हुने काम भयो : प्रधानमन्त्री ओली

oli

जेठ १६, काठमाण्डौ,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रैका नेताबाट देशका लागि अनिष्ट हुने काम भइरहेको बताउनुभएको छ । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटनामा नेपालमा भइरहेको बताउनुभयो ।

उहाँले नेता माधवकुमार नेपालप्रति इङ्गित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वाभाविक भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले उनीहरूले देशविरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गर्नुभयो ।

राजनीतिक दल र तिनका नेता अनुशासनहीन, अराजक, पार्टी निर्देशन विपरीत फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीविरुद्ध जाने, अर्कै उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको बताउनुभयो ।

उहाँले आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने त कहिले अर्को सरकार बनाउन गरिएको कसरत दलीय अनुशासन, मर्यादा, प्रणाली संसदीय प्रणालीविरुद्ध भएको बताउनुभयो । उहाँले पछिल्लो समय नेपाली राजनीतिमा स्याडिस प्रवृत्तिको बिगबिगी देखिएको टिप्पणी गर्नुभयो ।