गण्डकीका १ सय १६ सहित देशभर २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टी

corona update

असार ६, पोखरा,

आइतबार गण्डकी प्रदेशमा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १०२ जनामा गरिएको नमुना परीक्षणमा थप ११६ जनको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका ४५ जना सहित नवलपुरका २०, तनहुँका १४, बागलुङका १०, पर्वतका ९, लमजुङ र म्याग्दिका आठआठ तथा स्याङ्गजाका २ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५२ हजार ४ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ५५८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४७ हजार ७७४ पुगेको छ ।

त्यस्तै आइतबार पनि गण्डकीमा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका ५ जना र नवलपुरका तीन जना रहेको निर्देशनालयले बताएको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय २१ जना र चार हजार दुई सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार २१ जना गरी दुई हजार चार सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार चार सय ५६ जना सङ्क्रमणमुक्त भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५ लाख ५६ हजार ७ सय ९८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५१ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ८ हजार ७ सय २६ पुगेको छ भने अहिले नेपालमा ५५ हजार ५ सय ३२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले बताएको छ ।