देशभरका ७४ जिल्लामा निषेधाज्ञा जारी,कास्कीमा कडाई : अटेर गर्नेलाई कारबाहि

Pokhara Lockdown

जेठ ३, पोखरा,

मुलुकका विभिन्न जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास जारी राखेका छन् । आजसम्म कुल ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

तथ्याङ्कले सङ्क्रमणको दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम भने बढ्दो क्रममा हुँदा प्रशासनले म्याद थप गर्दै निषेधाज्ञालाई जारी राखेका हुन् । पछिल्लो समय गाउँगाउँमा सङ्क्रमण फैलिँदो क्रममा रहेको स्वास्थ्यविज्ञ डा विराज कर्माचार्यले बताए ।

नेपालमा गत वैशाख ७ गतेदेखि शुरु भएको निषेधाज्ञामा सङ्क्रमणमा आएको बढोत्तरीसँगै समय थप गरेर अझै आदेशलाई कडाइ गरिँदै छ । पछिल्लो समय कतिपय जिल्लाले दुई हप्ताका लागि आदेश थप गरेर कार्यान्वयनमा लगेका छन् भने कतिपय जिल्लाले हप्ता÷दश दिन तोकेर थप गर्दै कोभिड–१९ सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् ।

पछिल्लो समय भने निषेधाज्ञाको असर विस्तारै देखिन थालेको छ जसका कारण सङ्क्रमण दर क्रमशः घट्दो क्रममा रहेको र निको हुने दर वृद्धि भइरहेको छ ।
कास्किमा आउँदो जेठ ७ गते सम्मकोलागि निषेधाज्ञा लम्ब्याईएको छ । यसअघि बैशाख मसान्तसम्म निषेधाज्ञा लागु भएको थियो । अहिले जारि निषेधाज्ञामा थप कडाई गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक वाहेक सम्पूर्ण सेवामा रोक लगाएको छ । साथै विभिन्न कम्पनि र निर्माणका कार्यमा खटिएकाहरुलाई पनि कार्यस्थल नजिकै खाना र बासको व्यवस्था गर्न अनुरोध गरेकोले आवतजावतमा पनि कडाई गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न १९ स्थानमा चेक पोईन्ट बनाएरै चेकजाँच गरिरहेको प्रहरीले बताएको छ । साथै सरकारले तय गरेको स्वास्थ्य मापदण्ड कडाईकासाथ पालना गर्न अनुरोध गर्दै नियम उल्लघंन गर्नेलाई कडा कारबाहिको चेतावनि समेत दिएको छ ।