अबको तीन दिन विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

rain-fall

साउन २, कास्की


शनिबार (आज) दिउँसोदेखि मनसुन थप सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले गण्डकी प्रदेशका केहि स्थान सहित वाग्मती, प्रदेश एक र लुम्बिनीका केही ठाउँमा वर्षा भैरहेको छ । आज राति, भोली र पर्सिसम्म नै पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

अबको तीन दिन पश्चिम तराईमा बढी पानी पर्ने तथा पहाड र हिमाली क्षेत्रमा तुलनात्मक रुपमा कम पर्ने मौसमविद्को अनुमान छ । भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनीका थोरै ठाउँमा ठूलो पानी पर्ने र पर्सि प्रदेश एक, प्रदेश दुई, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

मनसुन थप सक्रिय भएकाले केही नदी तथा खोलामा बाढीको जोखिम बढ्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।