भारतमा कोरोना संक्रमितमा ‘पहेँलो ढुसी’को पनि संक्रमण

yellow_fungus

जेठ ११, एजेन्सी,


भारतमा कोरोना सङ्क्रमण निको भएका व्यक्तिमा पहेँलो ढुसी (एल्लो फङ्गस) को सङ्क्रमण पनि देखिएको छ । यसअघि कालो ढुसी र सेतो ढुसीको समस्या भारतका धेरै राज्यमा देखिएकोमा उत्तर प्रदेशको गाजियाबाद जिल्लामा पहिलो पटक पहेँलो ढुसीको सङ्क्रमण भेटिएको नाक कान घाँटी विशेषज्ञ वीपी त्यागीले पुष्टि गर्नुभएको समाचारसंस्था एएनआइले जनाएको छ ।
४५ वर्षमा पुरुषमा पहेँलो ढुसीको समस्या देखिएको हो । पहेँलो ढुसीको सङ्क्रमण भएका व्यक्तिमा निद्रा बढी लाग्ने भोक कम लाग्ने र तौलमा अस्वाभाविक कमी आउने जस्ता लक्षण देखिएको विशेषज्ञ त्यागीले बताउनुभयो । यो ढुसीको सङ्क्रमण बढ्दै जाँदा घाउबाट पीप बग्नु, घाउहरू निको हुन ढिलो हुनु, कुपोषण तथा इन्द्रीयहरूले काम गर्न नसक्ने जस्ता समस्या हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘पहेँलो ढुसी एक घातक रोग हो किनभने यो आन्तरिक रूपमा सुरु हुन्छ त्यसैले यसका लक्षणहरू याद गर्नु महत्त्वपूर्ण छ । समयमा लक्षणहरूको ख्याल नगर्दा आउने समस्याले यस रोगको निदानमा धेरै कठिनाइ देखिएको छ ।’ कोरोना सङ्क्रमण निको भएका व्यक्तिमा दुई महिनापछि पनि विभिन्न किसिमका ढुसीको सङ्क्रमण देखिएको छ ।