पोखराका सरकारी अस्पतालहरु कोरोना संक्रमितले भरियो/खाली सिलिण्डर फिर्ता गर्न जिल्ला प्रशासनको आग्रह

hsptl

बैशाख २४, पोखरा,

कोरोना संक्रमितको संख्या बढेसँगै पोखरामा जटिल अवस्था भएका कोरोना संक्रमितलाई समेत उपचारमा समस्या सिर्जना हुन थालेको छ ।
पोखरामा रहेका गण्डकी अस्पताल र गण्डकी प्रदेशले संचालन गरेको सरुवा रोग तथा संक्रमक अस्पतालमा गरि करिब सय बढि संक्रमितहरु अस्पताल भर्ना भएका छन् ।

अस्पताल भर्ना भएका मध्ये ९० प्रतिशत बिरामीको स्वास्थ्य अवस्था नाजुक भएको गण्डकी अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए । आचार्यका अनुसार अब गण्डकी अस्पतालमा जटिल अवस्थाका बिरामी आए पनि राख्न सक्ने अवस्था नरहेको आचार्यको भनाई छ ।

त्यस्तै गण्डकी प्रदेश सरकारले संचालन गरेको सरुवा रोग तथा संक्रामक अस्पताल शिसुवाका निर्देशक बिकास गौचनका अनुसार उक्त अस्पतालमा पनि थप बिरामी भर्ना गर्न सक्ने अवस्था रहेको छैन ।

गण्डकी अस्पताल र प्रदेशको कोरोना अस्पतालमा गरेर दैनिक १५० सिलिण्डर अक्सिजन ग्याँस खपत हुँदै आएको छ । यहि अवस्था केहि समयसम्म रहिरहने हो भने पोखरामा पनि अक्सिजन सिलिण्डरको अभाव हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । पछिल्लो समय पोखरामा सरकारी र निजि गरि तिन स्थानमा कोरोना परिक्षण गरिदै आएको छ ।
यसैबिच
जिल्ला प्रशासन कार्यालय कास्कीले अक्सिजनका खाली सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । कास्की प्रशासनले एक सूचना जारी गर्दै ७२ घण्टा भित्र सिलिण्डरहरु सम्वन्धित निकायमा फिर्ता गर्न आग्रह समेत गरेको छ ।
खाली सिलिण्डर राखेर कृत्रिम अभाव सृजना गरेको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने समेत प्रशासनले जनाएको छ ।