देशभर १ सय ९३ जनाको कोरोना संक्रमणबाट ज्यान जाँदा गण्डकीका मात्रै १७ जनाको मृत्यु

update

जेठ ९, पोखरा,

पछिल्लो २४ घण्टामा देशभर कोरोना सङ्क्रमणबाट थप १ सय ९३ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार तीन सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात हजार नौ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १८ हजार नौ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा सात हजार पाँच सय ९८ जना र नौ सय ६१ जनाको एन्टिजेन परीक्षण गर्दा तीन सय १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या पाँच लाख १३ हजार दुई सय ४१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात हजार ६ सय ६४ जना निको भएका छन् । योसँगै निको हुने सङ्ख्या तीन लाख ९१ हजार तीन सय ४८ पुगेको छ ।

अहिले नेपालमा एक लाख १५ हजार पाँच सय ४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबिच
आइतबार गण्डकीमा ९४६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ८८५ जनामा गरिएको नमुना परीक्षणमा थप ९४६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका १० जिल्लाका छन् । जसअनुसार कास्कीका २९५ जना, तनहुँका ६१ जना, गोरखाका १७१ जना, लमजुङका ८ जना, नवलपुरका २५ जना र स्याङ्गजाका ९० जना छन् ।

यस्तै, पर्वतका १८ जना, बाग्लुङका ९५ जना, म्याग्दीका १८१ जना र मुस्ताङ जिल्लाका दुई जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ । आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३४ हजार ५८२ पुगेको छ । जसमा १० हजार २८४ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ६९९ जना संक्रमणमुक्त भएका छन् । योसंगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३ हजार ७६४ पुगेको छ ।

आइतबार पनि गण्डकीमा थप १७ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीमा चार जना, स्याङ्गजाका चार जना, तनहुँका एक जना, पर्वतका एक जना, गोरखाका दुई जना, लमजुङका एक जना, नवलपुरका एक जना र म्याग्दी जिल्लाका तीन जना छन् ।

योसंगै गण्डकीमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५३१ पुगेको निर्देशनालयले जनाएको छ ।