शेयर बजारमा मंगलबार मात्रै साढे १६ अर्ब रुपैयाँको कारोबार, ५१ वटा कम्पनी तुलनात्मक रूपमा जोखिममा

Share_nepse_market

असार १, पोखरा,

नेप्से परिसूचक मङ्गलवार (आज) ३ दशमलव ७२ अङ्कले घटेको छ । परिसूचक घटेर ३ हजार २२ दशमलव १० अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

आज होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, म्युचल फन्ड र लगानी समूहबाहेक अरू समूहको परिसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक ४ दशमलव ४२ अर्थात् दुई सय २२ दशमलव ८९ अङ्कले घटेको छ ।

यस्तै आज १६ अर्ब ५२ करोड रुपैयाँ बराबरको तीन करोडभन्दा धेरै कित्ता शेयर किनबेच भएको छ । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ७६ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।
यसैबिच
धितोपत्र बोर्डमा सूचीकृत विभिन्न ५१ वटा कम्पनी तुलनात्मक रूपमा जोखिम रहेको देखिएको छ । धितोपत्र बोर्डले मङ्गलवार विज्ञप्ति निकालेर विभिन्न ५१ कम्पनी तुलनात्मक रूपमा जोखिम रहेको जानकारी गराएको हो ।

बोर्डका अनुसार ५१ कम्पनीको सूचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, चन्द्रागिरि हिल्स, विशाल बजारलगायत कम्पनी रहेका छन् । शेयर बजार उच्च अङ्कमा पुगेका बेला जोखिम आँकलन गरेर मात्रै लगानी गर्न बोर्डले लगानीकर्तालाई आग्रह गरेको छ । बजार सधैँ बढिरहने मात्र नभइ समय क्रममा घटबढ भइ रहने भएकोले यस बजारमा हल्ला वा लहैलहैमा लागेर लगानी गर्नु जोखिमयुक्त हुने बोर्डका प्रवक्ता निरज गिरीले बताउनुभएको छ ।