गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

krishna chandra chayen

असार ४, पोखरा,

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनुभएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहनुभएका पोखरेलले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङे सहित ३१ सासंदको मत प्राप्त गर्नुभएको हो ।

शुक्रबार विश्वासको मत दिएका ३१ सांसदकै समर्थनमा गत जेठ २९ गते प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । बहुमतका आधारमा मुख्यमन्त्री चुनिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री पोखरेलले प्रदेश सभाबाट विश्वासको मत लिनुभएको हो ।

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री पोखरेलले काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेको १ गरी ३१ मत प्राप्त गर्दा उहाँको विषक्षमा नेकपा एमालेका २७ सांसदले मत दिएका थिए ।
शुक्रबार विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री पोखरेलले वर्तमान मन्त्रीहरूको कार्य विभाजन गरि मन्त्रीपरिषद् थप विस्तार गर्ने योजना रहेको स्रोतले बताएको छ ।