अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न सभामुख सापकोटाको रुलिङ : सम्पर्कमा आउन सरकारको आग्रह

agni_sapkota_savamukh

साउन ३२, काठमाण्डौ,

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारेमा प्रतिनिधि सभा र आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको आज सोमवारको बैठकमा सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षित रहने व्यवस्था गर्न, सकुशल उद्धार गर्न र उनीहरूको बारेमा यथार्थ जानकारी गराउन सरकारलाई निर्देशन पनि दिनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकको सुरुमै समय लिएर नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अफगानिस्तानमा भएको घटना र त्यहाँ रहेका नेपालीको अवस्था जान्न पाउनुपर्ने विषयमा उठाएको कुरामा तत्काल उद्धार गर्न सभामुख सापकोटाले यस्तो निर्देशन दिनुभएको हो ।

तालिबान विद्रोही समूहले अफगानिस्तान कब्जामा लिएपछि अहिले त्यहाँको अवस्थालाई लिएर विश्वभरबाट नै चिन्ता व्यक्त भइरहेको छ ।
यसैबिच सरकारले अफगानिस्तानमा अलपत्र परेका नेपालीहरुलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ ।

उद्धारका लागि पर्खिरहेका नेपालीहरुलाई www.mofa.gov.np/registration मा अनलाइन दर्ता गर्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको  छ।

उक्त पोर्टलमा आफ्नो नामसहित उल्लेख गर्नुपर्ने विवरण तत्काल भरी दर्ता गराउन मन्त्रालयले सम्बन्धित व्यक्ति वा तिनका परिवारका सदस्यलाई आग्रह गरेको छ।

‘उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर र ह्वाट्सव एप सुविधासहितको मोबाइल नम्बरहरू ९७४९३२६४५८ र ९७४९३२६४५९ सम्पर्क गर्न सकिने मन्त्रालयको सूचनामा भनिएको छ।