धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न निर्देशन

Samiti_

भदौ ४, काठमाण्डौ,

संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीलाई तत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रवार सिंहदरबारमा बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

बोर्डका अध्यक्ष ढुङ्गाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले परिवारका सदस्यको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेर नियामक निकाय आफैँले पदीय मर्यादा विपरीत शेयर कारोबार गरेकाले तत्काल छानबिन गरी उनीहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

उहाँले बोर्ड र नेप्सेका पदाधिकारीलाई पदमा बहाल रहुन्जेल पुँजी बजारमा कारोबार गर्न नपाउने गरी कानुनी व्यवस्था गर्न ढिलाइ गर्न नहुनेमा पनि जोड दिनुभयो ।

बैठकमा समितिका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थ मन्त्री जनार्दन शर्माले नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा विपरीत काम गरेकोमा सरकारको ध्यान भएको स्पष्ट पार्दै उनीहरूमाथि आवश्यक कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

अर्थ मन्त्री शर्माले नियामक निकायबाटै शेयर बजारमा विकृति भित्र्याउने काम गरेको सुनिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मन्त्रीस्तरीय निर्णय गरेर छानबिनका लागि पाँच सदस्यीय समितिसमेत बनाएको बैठकमा जानकारी दिनुभएको थियो ।