दार्चुला घटनाबारे सत्यतथ्य जानकारी गराउन भारतीय पक्षसँग माग

Darchula-Tuin

साउन १६, दार्चुला,

जिल्ला प्रशासन कार्यालय दार्चुुलाले तुुइन तर्ने क्रममा महाकालीमा युवक बेपत्ता भएको घटनामा भारतीय पक्षसँग जानकारी मागेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाका विषयमा सत्यतथ्य जानकारी गराइ आवश्यक कारबाही प्रक्रिया अघि बढाउन भारतीय समकक्षीलाई पत्राचार गर्नुभएको छ ।

घटना छानविनकै क्रममा रहेको भन्दै भट्टले सत्यतथ्य पुष्टि नभएको अवस्थामा दुुई देशबीचको सम्बन्धमा खलल पार्ने किसिमका सूचना तथा समाचार सम्प्रेषण नगरिदिन पनि आग्रह गरिएको छ । शुक्रबार तुइन तर्ने क्रममा एसएसबीले तुइनको डोरी काटिदिँदा व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

धामीको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुुसन्धान जिल्ला कार्यालयबाट टोली समेत खटाइएको प्रशासनले जनाएको छ ।