गण्डकीको संक्रामक रोग अस्पताल अझै सुविधा सम्पन्न बनाईँदै

gandaki hsptl

जेठ १०, पोखरा,

कोरोना महामारीसँगै गण्डकी प्रदेश सरकारले स्थापना गरेको आफ्नै संक्रामक तथा सरुवा रोग अस्पताल अझै सुविधा सम्पन्न हुने भएको छ । समुदायस्तरबाट सञ्चालित लेखनाथस्थित लायन्स सामुदायिक अस्पताललाई गण्डकी प्रदेश सरकारले गत साउन १ गते आफ्नो मातहत ल्याएर कोभिड उपचार थालेको थियो ।

अहिले ५० बेडको प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल अब कम्तीमा १२० बेडको हुने भएको छ भने सँगै प्रादेशिक जनस्वास्थ्य प्रगोगशाला पनि खुल्ने भएको छ । सुरुदेखि नै बेड भएर पनि सञ्चालन हुन नसकेको सघन उपचार कक्ष पनि सुरु भएको छ ।

संक्रामक तथा सरुवा रोग अस्पतालमा जनस्वास्थ्य प्रयोगशाला र एक सय बेड क्षमताका नयाँ भवन बनाउने लक्ष्यसहित सोमबार गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास सँगै भेन्टिलेटरसहित ७ बेडको सघन उपचार कक्ष (आईसीयू)को पनि उद्घाटन गर्नुभएको छ ।

कोभिड–१९ को महामारीसँगै काठमाडौंमा मात्र सीमित जनस्वास्थ्य प्रयोगशालालाई सातै प्रदेशमा विस्तार गर्ने संघीय सरकारले निर्णय गरेको थियो । सरकारको त्यही नीतिअनुसार अस्पतालमा प्रयोगशला निर्माण गर्न लागिएको हो । अहिले जनस्वास्थ्य प्रयोगशाला भाडाको घरमा चल्दै आएको छ । यो निर्माण सकिएसँगै प्रयोगशाला आफ्नै भवनमा सर्ने बताईएको छ ।

३४ करोड ३५ लाख रुपैयाँ लागतमा १८ महिनाभित्र सक्ने गरी टेन्डर आह्वान भइसकेको छ । संघीय योजना कार्यान्वयन इकाईमार्फत एक हप्ताअघि टेन्डर आह्वान भएको र यसले प्रदेशमा हुने थुप्रै परीक्षणलाई सघाउ पु¥याउने संक्रामक अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले जानकारी दिनुभयो ।

प्रदेशले लिएसँगै ५० बेड सञ्चालन गरेको अस्पताल अब तीन वर्षभित्र कम्तीमा १२० बेडको हुने भएको छ । ९३ करोड रुपैयाँको लागतमा एक सय बेडका बनाउने लक्ष्य भए पनि यो वर्ष ५३ करोड रुपैयाँको लागतमा ७० बेडसम्मको नयाँ भवन बनाउन लागिएको कार्यकारी निर्देशक डा. गौचनले बताउनुभयो ।