अक्सिजन अभावमा पोखरामा उपचाररत ६ जना सहित गण्डकीमा एकैदिन ३० जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि, देशभर एकैदिन झण्डै १० हजारले कोरोनालाई जिते

update

जेठ १४, पोखरा,

देशैभरको तथ्याङ्क अनुसार पछिल्लादिनहरुमा संक्रमण र मृत्यु दर घट्दै जाँदा गण्डकी प्रदेशमा भने संक्रमणबाट मृत्यु हुनेको संख्यामा वृद्धि भएको छ । शुक्रबार गण्डकीमा एकैदिन ३० जनाको मृत्यु पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

शुक्रबार मृत्यु पुष्टी भएका मध्य पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा उपचाररत ६ जना संक्रमितको अक्सिजन अभावमा मृत्यु भएको बताईएको छ । अस्पतालका अक्सिजन फोकल पर्सन बिमल बरालका अनुसार बिहीबार दिउँसो ४ बजेदेखि नै अस्पतालमा अक्सिजनको अभाव हुन थालेको थियो । अक्सिजन उद्योगबाट उत्पादन कम भएका कारण पर्याप्त अक्सिजन नपाएको बरालले बताउनुभयो ।

यता अस्पतालमा आवश्यकता अनुरूप अक्सिजनको आपूर्ति नहुँदा बिरामीहरूले ज्यान गुमाउनुपरेको प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले पनि स्वीकार गर्नुभएको छ । सरकारी अस्पताल भएर पनि आफ्नै अक्सिजन प्लान्ट नभएकोले निजी स्तरबाट सञ्चालित अक्सिजन प्लान्ट उद्योगबाट न्यूनतम मागअनुसार आपूर्ति नहुँदा यस्तो समस्या देखिएको भन्दै डा. खत्रीले अक्सिजन खोज्न सबैले सहयोग गरिदिन आग्रह पनि गर्नुभयो ।

तर अस्पतालका फोकल पर्सन डा. शरद बरालले भने हाइफ्लो अक्सिजन नपाउँदा सुत्केरीको ज्यान गएको तर अन्य बिरामीमा भने दीर्घ रोगले बढी च्यापेर ज्यान गएको दाबि गर्नुभएको छ ।

अक्सिजन अभावमा मृत्यु भएपछि अस्पतालले लापरवाहि गरेको भन्दै मृतकका आफन्तहरुले गुनासो गरेका छन् । मृतकका आफन्तले समयमै अक्सिजन अभावको सुचना आफूहरुले पाएको भए जसरी पनि अक्सिजन जोहो गर्ने भन्दै अस्पतालले समयमा सुचना नदिँदा आफन्तलाई गुमाउनु परेको दुःखेसो पोखेका छन् । साथै पोखराका कुनै पनि निजि अस्पतालमा अक्सिजन अभाव नहुँदा सरकारी अस्पतालमा अभाव हुनुमा अक्सिजन बितरण प्रणालिमा प्रदेश सरकारले नै गोलमाल गरेको हुनसक्ने भन्दै मृतकका केहि आफन्तले आक्रोश समेत व्यक्त गरेका छन् ।

प्रदेशमा एकैदिन ३० जनाको मृत्यु पुष्टी भएको अहिलेसम्मकै सर्वाधिक संख्या रहेको छ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण समुदायमा फैलिरहेकोले त्यसको न्यूनिकरणकालागि भन्दै कास्की जिल्ला सहित प्रदेशका विभिन्न जिल्लामा निषेधाज्ञाको समय थप गरिएको छ । निषेधाज्ञा कडाईकासाथ लागु गर्दा पनि संक्रमणदरमा भने कमि आउन सकेको छैन । कास्कीमा आउँदो जेठ २१ गते सम्मकालागि अत्यावश्यक बाहेक सम्पूर्ण सेवामा निषेध आदेश जारि रहेको छ ।

शुक्रबार मृत्यु पुष्टि हुनेमा कास्कीका मात्रै १२ जना रहेका छन् भने तनहुँका ६ जना, गोरखा र स्याङ्गजाका तीन–तीन जना, पर्वत र मुस्ताङका दुई–दुई जना तथा नवलपुर र बागलुङका एक–एक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ सय २४ पुगेको छ ।

यस्तै शुक्रबार कास्कीका २ सय ९ सहित गण्डकीमा थप ८ सय ८ जनामा कोरोना पुष्टि भएको छ । निर्देशनालयका अनुसार १ हजार ४ सय ९० जनामा गरिएको नमुना परीक्षणमा ८ सय ८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमितहरुमा कास्कीका २ सय ९ जना सहित नवलपुरका १३४, पर्वतका १३३, बाग्लुङका १३२, गोरखाका ७७, तनहुँका ५४, स्याङ्गजाका ५१, म्याग्दीका १२, लमजुङका ४, मनाङ र मुस्ताङका एक–एक जना रहेका छन् । शुक्रबार गण्डकीबाट थप ७ सय ७० जना कोरोनामुक्त भएपछि अहिले प्रदेशभर ११ हजार २ सय ७५ सक्रिय संक्रमित रहेको निर्देशनालयले बताएको छ ।
यसैबिच
शुक्रबार देशभरबाट झन्डै १० हजार जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९ हजार ८ सय ४१ जनाले कोरोनालाई जितेका छन् । एकै दिन सङ्क्रमणमुक्त हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । अहिले सङ्क्रमण निको हुने दर ७८ दशमलव १ प्रतिशत पुगेको छ ।

त्यस्तै पछिल्लो समय ६ हजार ९ सय ५१ जना संक्रमित थपिएका छन् । पीसीआर विधिमार्फत १९ हजार तीन सय १३ जनाको परीक्षण गर्दा ६ हजार आठ सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने एन्टिजेनमार्फत सात सय ९७ जनाको परीक्षण गर्दा ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा सङ्क्रमितको सङ्ख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ । यसैगरी कोरोना संक्रमणका कारण थप ९६ जनाको ज्यान गएसँगै अहिलेसम्म देशभर ज्यान गुमाउनेको सङ्ख्या ७ हजार ४७ पुगेको छ । अहिले नेपालमा एक लाख १३ हजार तीन सय ९४ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले बताएको छ ।