अफगानिस्तानमा तालिबान र सुरक्षा फौजको झडपमा परि रोयटर्सका एक फोटो पत्रकारको ज्यान गयो

afganistaan danish_siddiqui

साउन १, एजेन्सी,

पत्रकारीता जगतको विषेश पुरस्कार पुलित्जर पुरस्कार विजेता भारतीय फोटो पत्रकार दानिश सिद्दीकीको अफगानिस्तानमा ज्यान गएको छ । भारतका लागि अफगानिस्तानका राजदूत फरीद मामुन्दजईले यस खबरको पुष्टि गर्नुभएको हो ।
स्पिन बोल्दाक जिल्लामा तालिबान र अफगान सुरक्षा फौजको झडपमा परि सिद्दीकीको ज्यान गएको हो । अफगानिस्तानको टीभी च्यानल टोलो न्युजका अनुसार कन्धारको स्पिन बोल्दाक जिल्लामा भइरहेको सङ्घर्षको रिपोर्टिङ गर्ने क्रममा सिद्दीकीको ज्यान गएको हो ।
दानिश सिद्दीकी अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका प्रमुख फोटो पत्रकार थिए र उनी केही दिनदेखि अफगानिस्तानमा चलिरहेको सङ्घर्ष र तनावको रिपोर्टिङ गरिरहेका थिए । रोयटर्स पिक्चर्सको मल्टिमिडिया टिमको भारतीय प्रमुख दानिश सिद्दीकीले सन् २०१८ मा फिचर फोटोग्राफीमा पुलित्जर पुरस्कार जितेका थिए ।