विदेश जाने नेपालीलाई खोप सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

manab

साउन १, काठमाण्डौ,

राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपालीलाई गन्तव्य देशले मान्यता दिएको कोरोना विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोना विरुद्धको खोपका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरू समस्यामा परेको भन्दै एक पटक मात्र लगाए हुने र गन्तव्य देशले पनि मान्यता दिएको खोपको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको हो ।

यसका साथै आयोगले महामारीको बेलामा रोजगारीका लागि जाने नेपाली श्रमिकको मानवअधिकारको रक्षा गर्न पनि सरकारलाई भनेको छ । कतार, साउदी अरब, कुवेत लगायतका श्रम गन्तव्य देशहरूको कोरोना महामारी नियन्त्रणका लागि आफ्नो देश प्रवेश गर्नेहरूलाई खोप अनिवार्य गर्दै लगेका छन् ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई कोरोना विरुद्धको खोप तत्काल व्यवस्थापन गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलगायत सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको पनि आयोगले उल्लेख गरेको छ ।