देशका विभिन्न अस्पतालहरुमा अक्सिजनको अभाव : निजि अस्पताललाई आफै अक्सिजन प्लान्ट राख्न सरकारको निर्देशन

Oxygen-cylinder

बैशाख २९, काठमाण्डौ

देशमा कोरोना संक्रमण अनियन्त्रित भइरहेका बेला देशभरका अस्पतालहरुले अक्सिजन अभावका कारण थप संक्रमितको उपचार गर्न नसक्ने घोषणा गर्न थालेका छन् ।

यसरी घोषणा गर्नेमा राजधानीकै सुविधासम्पन्न निजी अस्पतालदेखि मोफसलका अस्पतालहरु रहेका छन् । मंगलबारसम्म फाट्टफुट्ट केही अस्पतालले मात्र अक्सिजन अभावले गर्दा उपचार गर्न समस्या भएको बताइरहेका बेला बुधबार आइपुग्दा एकपछि अर्को गर्दै सुबिधासम्पन्न मानिएका अस्पतालहरुले उपचार गर्न नसक्ने घोषणा गर्दै हात उठाएका हुन् ।

यसअघि, सरकारले एकाएक अस्पतालहरुलाई अक्सिजनमा कोटा तोकेको थियो । उक्त निर्णयले विरामीलाई असर पर्नेभन्दै अस्पतालहरुले सरकारी निर्णयको आलोचना गरेका थिए ।

अक्सिजनको चरम अभाव रहेको भन्दै थप कोरोना संक्रमितलाई उपचार गर्न नसक्ने घोषणा गर्नेमा मेडिसीटी, ग्राण्डी इन्टरनेशनल, नर्भिकलगायतका राजधानीका सुबिधासम्पन्न अस्पतालहरु रहेका छन् ।

यता, अक्सिजनको चरम अभावलाई देखाउँदै निजी अस्पतालहरुले एकपछि अर्को गर्दै उपचार रोक्ने निर्णय गरेका बेला सरकारले भने १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट राख्न निजी अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सय बेडमाथिका निजी अस्पतालले १५ दिनभित्र आफैं अक्सिजन प्लान्ट जोड्नुपर्ने निर्णय गरेको हो ।