गण्डकीमा काँग्रेसको अगुवाइमा नयाँ सरका गठनका लागि आवश्यक तयारी शुरु

congress

बैशाख २७, पोखरा,

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि प्रमुख प्रतिपक्ष दल काँग्रेसको अगुवाइमा नयाँ सरका गठनका लागि आवश्यक तयारी शुरु भएको छ । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीता कुमारी पौडेलले तीन दिनको समयसीमा तोकेर दुई वा त्यो भन्दा बढी दलहरूको सहमतिमा सरकार गठनका लागि आह्वान गरेपछि काँग्रेस लगायतका दलहरु आज साँझसम्म आवश्यक बहुमत सदस्यको हस्ताक्षर बुझाउने तयारी थालेका हुन् ।
प्रदेशसभामा ६० सस्यमध्ये सरकार बनाउनका लागि ३१ सांसदको समर्थन आवस्यक पर्छ । नयाँ सरकार गठनका लागि काँग्रेस १५, माओवादी केन्द्र १२ र जनता समाजवादीका २ सहित २८ मत छ । राष्ट्रिय जनमोर्चाको तीन मत नयाँ सरकारका लागि निर्णायक मानिएको छ । जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीको समर्थन नयाँ गठबन्धनका दललाई रहने बताइरहेका छन् ।
तर, गण्डकी प्रदेशसभामा जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र सांसद खिमविक्रम शाहीले भने नयाँ गठबन्धनलाई समर्थन गर्न आलटाल गरिरहेको बुझिएको छ । पार्टीकी अर्का सांसद पियारी थापा भने नयाँ गठबन्धनका लागि शुरु देखिनै खुलेर लाग्दै आएकी छन् । पार्टी केन्द्रको निर्देशनलाई समेत आलटाल गरिरहेको जनमोर्चा संसदीय दलको बैठक दलका नेता कृष्ण थापाको अध्यक्षतामा अहिले ११ बजेदेखि बसिरहेको छ ।
उता नयाँ गठबन्धनका दलहरुले जनमोर्चाको हस्ताक्षर कुरेर बसिरहेका छन् । जनमोर्चा संसदीय दलको निर्णयपछि काँग्रेस लगायतका दलहरु बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई भेट्ने योजनामा छन् ।
राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालले पार्टीले यस अघि नै नयाँ गठबन्धनलाई समर्थन गर्ने बताएकाले अहिले संसदीय दलको बैठक बसेपछि हस्ताक्षर गर्ने बताए । उनले पार्टीले यस अघि निर्णय गरेकोले पार्टीको निर्णय तलमाथि हुनै नसक्ने बताए ।