अघिल्लो सरकारले भन्दा राम्रो बजेट ल्याएर देखाउन पूर्व अर्थ मन्त्रीको चुनौति

bishnu

साउन २८, काठमाण्डौ,

नेकपा एमालेका नेता तथा पूर्व अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्री जनार्दन शर्माले जारी गर्नुभएको श्वेत पत्रमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर भएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको विशेष समयमा उहाँले श्वेत पत्र अघिल्लो सरकारको आलोचनाको रूपमा आएकाले यसमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर भएको बताउनुभएको हो । उहाँले अघिल्लो सरकारको अवधि स्वभावैले, आर्थिक प्रगतिको दृष्टिकोणले, विकास निर्माणको दृष्टिकोणले र समृद्धिको दृष्टिकोणले महत्त्वपूर्ण अवधि भएको बताउनुभयो ।

नेता पौडेलले २०७६÷०७७ को समय विश्व अर्थतन्त्र साढे तीन प्रतिशतले ऋणात्मक हुँदा नेपाली अर्थतन्त्र दुई प्रतिशतले मात्रै ऋणात्मक हुनु सुखद पक्ष रहेको बताउनुभयो । उहाँले कोभिड अवधिको तथ्याङ्कको सहारा लिएर २०७५÷०७६ को आर्थिक वर्षमा सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको तथ्यलाई छोप्न खोजेको उल्लेख गर्नुभयो ।

उहाँले स्वदेश वा विदेशबाट लिइएको सार्वजनिक ऋण चालु खर्चमा लगाउन नपाउने कानुनी व्यवस्था गरेको बताउँदै राजस्वले चालु खर्च धान्ने र विकासका लागि ऋण लिनुपर्ने विशिष्ट अवस्थामा देश रहेको बताउनुभयो । नेता पौडेलले ऋण नलिने विकास नगर्ने नभएर ऋण लिने र विकास पनि गर्ने बताउनुभयो ।

उहाँले अघिल्लो सरकारले जिम्मेवारी लिएदेखि जिम्मेवारी छोड्ने समयसम्म नेपालको अर्थतन्त्रमा निरन्तर सकारात्मक सुधार भए पनि जानकारी पत्रको तथ्य र निष्कर्ष भने परस्परमा विरोधाभास भएको बताउनुभयो । तथ्यले अघिल्लो सरकारले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको बताइएको भन्दै उहाँले अघिल्लो सरकारले भन्दा लोकप्रिय बजेट प्रस्तुत गर्न चुनौती दिनुभयो ।