नेपालमा पनि कोरोना संक्रमण पछि ‘ब्ल्याक फंगस’ भएका बिरामीको शल्यक्रिया

black fungas 2

जेठ १७, काठमाण्डौ,

कोरोना संक्रमणका कारण ‘ब्ल्याक फंगस’ भएका एकजना पुरुषको वीर अस्पतालमा शल्यक्रिया गरिएको छ । सर्लाहीका ३१ वर्षीय पुरुषमा कोरोना संक्रमणपछि ब्ल्याक फंगसको समस्या देखिएको थियो । उनको वीर अस्पतालमा सोमबार नाक, कान, घाँटी (इएनटी) सर्जन त्रिदीप बहादुर पन्थको नेतृत्वमा शल्यक्रिया भएको हो ।

ती पुरुषको नाक तथा आँखामा फैलिसकेको फंगस शल्यक्रिया गरेर निकालिएको डा पन्थले जानकारी दिनुभयो । उनलाई सर्जरीपछि थप औषधि उपचारका लागि कोभिड आईसीयूमा चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको डा पन्थले बताउनुभयो ।

शल्यक्रियाका संलग्न अर्का चिकित्सक डा सुदिन कायष्ठका अनुसार सर्लाहीका ती पुरुष कोरोना संक्रमण भएर जेठ १ गतेदेखि वीर अस्पतालमा भर्ना भएर उपचाररत थिए ।

उनमा संक्रमणपछि ब्ल्याक फंगसका कारण दाहिने आँखाको दृष्टि गुमिसकेको र देब्रे आँखाको दृष्टि पनि कम भएको थियो । फंगसका कारण गुमिसकेको दाहिने आँखाको दृष्टि भने फर्कन नसक्ने डा पन्थले बताउनुभयो ।