प्रदेशमा आन्तरिक आम्दानीको दायरा बढाउन अर्थ तथा विकास समितिको माग

artha samiti

भदौ ५, कास्की,

गण्डकी प्रदेश सरकारको आम्दानीभन्दा पनि चालु खर्च बढिरहेको भन्दै गण्डकी प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समितिले आन्तरिक आम्दानीतर्फ दायरा बढाउन अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ ।

शुक्रबार बसेको समितिको वैठकमा सांसदले आम्दानीभन्दा पनि प्रदेश सरकारको चालु खर्च बढी भएकाले संघीयतामाथि नै प्रश्न उठेको भन्दै यसतर्फ ध्यान दिनुपर्ने बताएका थिए ।

समिति सभापति दीपक कोइरालाले प्रदेश सरकारको आफ्नै आम्दानी नभएको र संघीय सरकारको आम्दानीमा भर पर्नुपर्ने भएकाले आम्दानीबारे अध्ययन गर्न निर्देशन दिए । प्रदेश सरकारले आफ्ना स्रोत के–के हुन् भन्ने पहिचान गरी कार्यान्वयनमा लैजान कोइरालाले मन्त्रालयको ध्यानाकर्षण गराए ।

समितिले गत आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था र चालु आवको बजेट कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा छलफल चलेको थियो । सांसद इन्द्रलाल सापकोटाले प्रदेश संरचनाको विरोध भइरहेको बेला सरकारले जनतामुखी बजेट नल्याएको आरोप लगाए ।

सापकोटाले प्रदेशको अधिकार के हो ? आम्दानी कसरी गर्ने ? स्रोत केके हुन ? कुनकुन क्षेत्रको राजस्व प्रदेश सरकारले उठाउने भन्ने विषयमा छलफल आवश्यक रहेकोमा जोड दिए ।

राजस्व उठ्ने ठूलो क्षेत्र नदीनाला रहेको बताउदै सांसदले यसको अधिकार क्षेत्रबारे पनि तीन तहकै सरकारबीच छलफल र समन्वय हुनुपर्ने बताए । समितिमा चालुखर्च घटाउन र आम्दानी बढाउनतर्फ पहल गर्नुपर्ने सुझाव दिइएको थियो । कान्तिपुर