कास्कीमा फेरी थपियो निषेधाज्ञा, अब जेठ २१ गतेसम्म अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द

nised

जेठ १३, पोखरा,

नयाँ भेरियन्ट सहितको कोभिड १९ तीव्र रुपले फैलिएकोले स्थिति भयावह हुन् नदिन भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लामा निषेधाज्ञाको समय पुनः १ हप्ता थप गरेको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहिबारको बैठकले आउँदो जेठ २१ गते सम्मकोलागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । अहिले जारि निषेधाज्ञाको समय जेठ १४ गते राति १२ बजे सम्म रहेको छ भने सोहि दिन देखि लागू हुनेगरी जेठ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप भएको छ । कास्की जिल्लामा वैशाख १५ गतेदेखि निषेधाको आदेश जारी भएको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार निषेधाज्ञाको समयमा यस अघि जस्तै अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ भने अत्यावश्यक बाहेकका सम्पूर्ण सवारिसाधन सञ्चालनमा रोक लगाईएको छ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पत्रकार तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ । सरकारी प्राथमिकताप्राप्त आयोजनाका निर्माण सामग्री बोक्ने गाडी बेलुका ८ देखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ ।