५ वर्षभित्र हरेक घरमा धारा पुग्छ, चौविसै घण्टा पानी आउँछः बराल

पोखरा ।
गण्डकीको प्रमुख अभियान हो, ‘एक घर, एक धारा’ । तर अधिकांश गाउँहरुमा पानीको पहुँच पुग्न सकेको छैन । विशेषगरी कास्की ३ (ख) का नागरिकहरु खानेपानीको आधारभुत आवश्यक्ताबाट बन्चित भएका छन् । कास्कीकोट, ढिकुरपोखरी लगायत गाउँहरुमा खानेपानी विस्तारमा समस्या छ ।

खानेपानीको दीगो श्रोत नभएका कारण ति बस्तीहरुमा नियमित खानेपानीको आपुर्ति गर्न समस्या छ । सो क्षेत्रबाट गठबन्धनका साझा उम्मेद्वार प्रकाश बरालले खानेपानीको समस्या समाधानमा आफुले विशेष पहल गर्ने बताएका छन् । उनले दीगो श्रोत नभई खानेपानीको अभाव रहेका पहाडी बस्तीहरुमा लिफ्टको माध्यमबाट आपुर्ति गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।


गण्डकी प्रदेशमा आधारभुत तहको खानेपानी सुविधाबाट लाभान्वित जनसंख्या ९१ प्रतिशत मात्रै छ । मध्यम तथा उच्च स्तरको खानेपानी सुविधाबाट ३० प्रतिशत जनसंख्या मात्रै लाभान्वित छन् । गरिव, पिछडिएको र उच्च जोखिमयुक्त वर्ग सरसफाईको मुल प्रबाहबाट बाहिर छन् ।

बजेट अभाव भएका कारण निर्माणाधीन आयोजनाहरु समयमै सम्पन्न हुन सकेका छैनन् । जलवायू परिवर्तन, वातावरणीय प्रभाव, बढ्दो सहरीकरण र अव्यवस्थित बस्ती विकासका कारण खानेपानीका श्रोतहरु सुक्दै गएका छन् । श्रोतहरु प्रदुशित भएका छन् । वितरण गरिएको खानेपानीको गुणस्तर अनुगमन र गुणस्तर बृद्धीमा सरकारले ध्यान दिन सकेको छैन ।

बरालले पहाडी भुभागमा पानीको श्रोत पहिचान गरी खनेपानी सुविधा विस्तार गर्ने बताए । ‘बस्तीहरुको आवश्यक्ता अनुसार खानेपानी व्यवस्था गर्छु । सकेसम्म सोही क्षेत्रका मुललाई उपयोगमा ल्याउने र नभए लिफ्टिङ आयोजना निर्माण गरिनेछ,’ बरालले भने, ‘तीनै तहका सरकारसँग समन्वय गरेर खानेपानीको सुविधा विस्तार गर्ने छु ।’

उनले लिफ्टिङ आयोजनाबाट खानेपानीको सुविधा पु¥याइएका गाउँहरुमा लाग्ने शुल्क मिनाहा गर्ने घोषणा गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका सबै घरमा ५ वर्षभित्रै गुणस्तरीय खानेपानीको व्यवस्था गर्ने चुनावी प्रतिबद्धता अघि सारेका छन् ।

बस्ती र घरसँगै उनले निर्वाचन क्षेत्रका सबै विद्यालयमा सुरक्षित खानेपानी सुविधा विस्तार गर्ने र पानी छान्ने प्रणाली वितरण गर्ने बताए । पानीको मुलको लगत संकलन गर्ने र मुल सुक्न नदिन मुल संरक्षण अभियान सन्चालन गर्ने प्रतिबद्धता उनले गरे ।

‘हाम्रा गाउँ बस्तीहरुमा भएका पानीका मुल सुक्ने अवस्थामा छन् । भुकम्प लगायत कारणले धेरै श्रोतहरु सुकिसकेका छन्,’ उनले भने, ‘पूराना श्रोतको खोजी गर्ने र मुलको लगत संकलन गर्दै त्यसको संरक्षण अभियान समुदाय स्तरमा चलाइने छ ।’ उनले विकास निर्माण गर्दा पानीका मुलको संरक्षणमा जोड दिने बताए । ५ वर्षभित्रै निर्वाचन क्षेत्रका सबै घरमा खानेपानीको धारा पु¥याउने र चौविसै घण्टा पानीको प्रबन्ध गर्ने उनको घोषणा छ ।