जेठ १८, काठमाण्डौ
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाउनुभएको छ । ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएलगत्तै ठाकुरले पनि यादवको नाम हटाउन आयोगलाई पत्र पठाउनुभएको हो ।
ठाकुरले निर्वाचन आयोगलाई पठाएको पत्रमा यादवलाई पार्टीको विधानअनुसार अनुशासन कारबाही भइ साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ । पत्रमा दलको दर्ता किताबबाट यादवको नाम हटाइ अद्यावधिक गर्न अनुरोधसमेत गरिएको छ ।
यसअघि मंगलबार नै उपेन्द्र यादव पक्षले ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरिएको व्यहोरासहितको पत्र निर्वाचन आयोगमा पठाएको थियो । एक–अर्को पक्षलाई निष्कासन गर्ने होडबाजीसँगै जसपा विभाजनको अन्तिम बिन्दुमा पुगेको छ ।