साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाइने : साउन २३ देखि २९ गतेसम्म मास्क अभियान

umesh

साउन २१, काठमाण्डौ,

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा एक करोड पाँच लाख खोप उपलब्ध हुने बताउनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उहाँले जापानबाट आठ लाख र भुटानबाट तीन लाख खोप आइतवारसम्ममा आउने जानकारी दिँदै साउन २५ गतेदेखि ३२ गतेसम्म खोप सप्ताह मनाइने पनि बताउनुभयो ।

जनगुनासोलाई सम्बोधन गर्दै सबै जिल्लाबाट क्यूआर कोडसहित सर्टिफिकेट दिने व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो । यस्तै शिक्षा तथा स्वास्थ्य समितिले कोभिड १९ विरुद्धको खोप सबै नागरिकले लगाउन पाउने गरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । त्यसैगरी समितिले तोकिएको लक्षित समूहलाई खोप दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
यसैबिच
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ ।

‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न लागेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले जनस्वास्थ्यका मापदण्ड उलंघन भएको र मास्क लगाउन पनि लापरबाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान शुरु गर्न लागिएको जानकारी दिनुभयो ।