गण्डकी प्रदेश सरकारले कोरोनाका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार सहयोग गर्दै

gandaki-prdesha1

भदौ २, कास्की,

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक रु पाँच हजार नगद सहयोग प्रदान गर्नै भएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति रु ६० हजार सहयोग प्रदान गर्न लागेको हो । गण्डकीमा स्थायी बसोबास गर्ने र कोरोनाबाट मृत्यु भएका नागरिकका सन्ततिले रकम प्राप्त गर्नेछन् ।

वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम राहत वितरणका लागि शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले कार्यक्रम कार्यान्वयन प्रक्रिया सुरुआत गरिएको जनाएको छ । कार्यक्रम कार्यान्वयनका लागि प्रदेशका ८५ वटै स्थानीय तहलाई त्यस्ता बालबालिकाको तथ्याङ्क सङ्कलन गरेर पठाउनका लागि आग्रह गरिएको मन्त्रालयका शिक्षा महाशाखा प्रमुख तोयानाथ लम्सालले बताउनुभयो ।

सहयोग रकम प्राप्त गर्नका लागि कोभिडका कारण मृत्यु भएका अभिभावकको पिसिआर रिपोर्ट, स्वास्थ्य संस्था वा अस्पतालमा मृत्यु भएको भए सो खुल्ने कागजात, वडाको सिफारिस, विद्यालयमा अध्ययन गर्नेको हकमा विद्यालयको सिफारिस तथा हाल संरक्षकत्वको विवरण आवश्यक पर्ने मन्त्रालयले जनाएको छ ।