सरकारले देशभित्रै खपत बढाउन फरक–फरक विद्युत् उपभोक्ता महसुल लागू गर्ने

pamfa

भदौ १, काठमाण्डौ,

सरकारले देशभित्रै खपत बढाउन फरक–फरक विद्युत् उपभोक्ता महसुल लागू गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणको ३६ औँ वार्षिकोत्सवको अवसरमा मङ्गलवार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदा दिनमा वर्षायामको विद्युत् खेर जान सक्ने अवस्थालाई मध्यनजर गरी आन्तरिक खपत बढाउने कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

प्राधिकरण सञ्चालक समिति अध्यक्षसमेत रहनुभएकी भुसालले अबको दुई वर्षमा देशलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्यलाई सकेसम्म समयअघि नै सम्पन्न गर्न कार्ययोजनासहित लाग्न प्राधिकरणलाई निर्देशन दिनुभयो ।

उहाँले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने योजनालाई सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले बुटवल–गोरखपुर, केरुग (चीन)–रातमाटे जस्ता अन्तरदेशीय र पूर्व–पश्चिम, उत्तर–दक्षिण जोड्ने ४०० केभीका प्रसारण लाइनको निर्माण गर्दा उत्पादित विद्युत् खेर नजाने साथै छिमेकी देशमा समेत विद्युत् व्यापारको ढोका खोल्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्राधिकरणले ग्राहकहरूलाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन धेरै मेहनत गर्नुपर्ने बताउँदै उहाँले गुनासोको तत्काल सम्बोधन गर्ने संयन्त्र बनाउने, वितरण संरचनाको स्तरोन्नति एवम् विस्तार गर्ने, प्रविधिको प्रयोग गर्दै स्वचालितमा जाने, स्मार्ट मिटर जडान कार्यलाई देशभर विस्तार गर्ने कामलाई तीव्रताका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।