कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै : नयाँ उम्मेद्वारले तिर्नु पर्ने रकमको प्रस्ताव (सूचिसहित)

deuba niwas

साउन २९, काठमाण्डौ,

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक (आज) शुक्रबार पनि बस्ने भएको छ।

बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्ने बैठक १४औं महाधिवेशनका विषयमा केन्द्रित रहनेछ।

पहिलो दिन (बिहिबार)को बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन, महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले क्रियाशील सदस्यता छानविन प्रतिवेदन छलफलका लागि पेश गरेका थिए।

पहिलो दिनको बैठकमा पाँच जना केन्द्रीय सदस्यले बोलेका छन्।

बैठकमा भदौ १६ देखि १९ सम्म तय भएको १४औं महाधिवेशनका लागि परिमार्जित नयाँ कार्यतालिकाको प्रस्ताव पेश हुने भनिएको थियो। यद्यपि, बैठकमा नयाँ कार्यतालिकाको प्रस्ताव पेश नभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो।

यसैबिच नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा उम्मेद्‌वारी दर्ताका लागि ३० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने प्रस्ताव गरिएको छ।

बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको निर्वाचन निर्देशिकामा केन्द्रीय उपसभापति र महामन्त्रीलाई समान रकम २५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ।

सहमहामन्त्रीका लागि २० हजार तोकिएको छ। यस्तै, केन्द्रीय सदस्यका लागि १० हजार तोकिएको छ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि ५ हजार प्रस्ताव गरिएको छ भने केन्द्रीय महासमिति सदस्यका लागि ७ हजार प्रस्ताव गरिएको छ।

प्रदेश सभापतिको उम्मेदवारका लागि १५ हजार, जिल्ला सभापतिको उम्मेदवार बन्न १० हजार, प्रतिनिधि सभा क्षेत्रको सभापतिको उम्मेदवार बन्न ७ हजार, प्रदेश सभा क्षेत्रको सभापतिको उम्मेदवार बन्नका लागि ५ हजार प्रस्ताव गरिएको छ।

सबै भन्दा कम रकम गाउँ, नगरपालिकाको वडा सदस्यको पदका लागि एक सय रुपैयाँ प्रस्ताव गरिएको छ। गाउँर नगर वडा कार्यसमितिको सभापतिको पदका लागि ५ सय प्रस्ताव गरिएको छ।