साउन १६, कास्की,
पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका जोड्ने प्रमुख सडक डेढ महिनादेखि पहिराले अवरुद्ध बनेको छ ।
महानगरभित्रकै महत्वपूर्ण सडक अवरुद्ध बनेको लामो समय व्यतित हुँदासमेत सञ्चालनमा नआउँदा आवतजावतमा समस्या छ । लामाचौर–माछापुच्छ«े सडकको पक्की कालोपत्र सडक पोखरा महानगरपालिका–१९ बेंसीचोकमा गत असार १ गते रातिको पहिराले अवरुद्ध भएपछि हालसम्म सञ्चालन नहुँदा सर्वसाधारणले सास्ती पाएका हुन् ।
अहिले माछापुच्छ«े गाउँपालिका र महानगरको वडा नं १९ साविक पुरुनचौर गाविसका नागरिकले घुमाउरो बाटो हुँदै यात्रा गर्न बाध्य भएका छन् ।
यसैगरी सडकको तल्लो भागसमेत पहिराले बगाएको छ । गत वर्ष पनि सोही स्थानमा पहिरो खसेको थियो । पूर्वाधार विकास कार्यालय कास्कीले रु ४० लाख लगानीमा मर्मत गरेको सडक एक वर्ष नपुग्दै पहिराले पुनःबगाएको हो ।
पोखरा–१९ का वडाध्यक्ष शोभामोहन पौडेलले आगामी १५ दिनभित्रमा सडक खुलाइसकिने बताउनभयो । महानगरको अग्रसरतामा पाँच दिनदेखि जेसिवी र टिपरले पहिरो पन्छाउने काम गरिरहेको बताउँदै उहाँले पहिरो पन्छाउने र फाउण्डेशनमा जाली भर्ने काम भइरहेको जानकारी दिनुभयो ।
कृष्ण दवाडी,