मंगलबारदेखि देशभर शिक्षक, प्राध्यापक, सार्वजनिक यातायातका मजदुरलगायतलाई खोप लगाईँदै

khop

असार २८, काठमाण्डौ,


सरकारले मङ्गलवारदेखि शिक्षक, प्राध्यापक, सार्वजनिक यातायातका मजदुरलगायतलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । चीनबाट ल्याइएको भेरोसेल र अमेरिकाबाट ल्याएको जोनसन एन्ड जोनसन खोप भोलिदेखि पहिलो मात्रा (जोनसन एन्ड जोनसन खोप चाहिँ एक मात्राले हुने) का रूपमा लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ५५ वर्ष र त्योभन्दा माथिका उमेर समूहका सबैलाई भेरोसेल खोप दिइने भएको छ ।
यस्तै ५० देखि ५४ वर्ष उमेर समूहलाई जोनसन एन्ड जोनसन खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै ’क’ र ’ख’ वर्गको परिचय पत्र भएका अपाङ्गता भएका व्यक्तिहरू, अहिले नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघिको अभियानमा छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत सरसफाइकर्मीहरूलाई पनि जोनसन एन्ड जोनसन खोप दिइने भएको छ ।
खोप लगाउन जाँदा आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र वा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लैजानुपर्ने मन्त्रालयले जनाएको छ । सार्वजनिक यातायातका चालक, सहचालकहरूलाई आधिकारिक परिचय पत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीको आधारमा खोप दिइने छ ।
शिक्षक तथा कर्मचारीहरूले संस्थाको आधिकारिक परिचय पत्रको आधारमा खोप पाउने छन् । खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरूले पासपोर्ट र भिसाको आधारमा खोप पाउने मन्त्रालयले जनाएको छ ।